
चितवनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मंगले बोटे मर्निङवाकका लागि घरबाट निस्किएको केही समयपछि बेपत्ता भएका थिए। बिहान करिब ५ बजे घरबाट निस्किएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
चितवन प्रहरीले बिहान करिब ८ बजे उक्त क्षेत्रमा बाघ देखिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको जनाएको छ। त्यसपछि प्रहरी, नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको टोलीले हात्तीको समेत प्रयोग गरी बोटेको खोजी गरेको थियो।
खोजीका क्रममा दिउँसो ४:२० बजे राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शवमा बाघले आक्रमण गरेको देखिने प्रमाण फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

