
धनगढी । कञ्चनपुरमा प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१८ सालघारीबाट कटुवाल पेस्तोलसहित कैलालीको गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकायासहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले रोकायासँगै बेलडाँडी गाउँपालिका–३ का १८ वर्षीय विपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका–६ का २० वर्षीय राजेन्द्र सिंह गोयलालाई पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार शंकास्पद अवस्थामा भेटिएपछि उनीहरूमाथि सोधपुछ तथा जाँच गर्ने क्रममा मोबाइलमा कटुवा पेस्तोलसहितको फोटो/भिडियो फेला परेको थियो ।
थप अनुसन्धान गर्दै विपिन सिंह बस्दै आएको भीमदत्त नगरपालिका–१८ मामा भान्जा चोकस्थित डेरा कोठामा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा कटुवा पेस्तोल बरामद गरिएको थियो ।
पक्राउ परेका चारै जनामाथि कानुनबमोजिम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

