प्रहरीका जुत्ता–मोजा खरिदमा अनियमितता आशंका, आरोपितलाई जिम्मेवारीबाट हटाएर छानबिन गर्न सांसद सुनारको माग


काठमाडौं । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका लागि जुत्ता, मोजा, कपडालगायत सामग्री खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।

संसदीय समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) लगायतका पदाधिकारीमाथि प्रश्न उठिसकेको अवस्थामा उनीहरूलाई जिम्मेवारीमै राखेर छानबिन गर्नु उचित नहुने बताए। उनले आरोप लागेका पदाधिकारीलाई जिम्मेवारीबाट अलग गरी निष्पक्ष र प्रभावकारी ढङ्गले अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिए। ‘तत्काल छानबिन समिति बनाउनुपर्छ। आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ,’ उनले भने।
प्रहरीका लागि खरिद गरिने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा अनियमितता भए त्यसको प्रत्यक्ष असर तल्लो तहका प्रहरी कर्मचारी तथा म्यादी प्रहरीमाथि पर्ने सांसद सुनारको भनाइ छ। निर्वाचनका क्रममा ठूलो संख्यामा म्यादी प्रहरी भर्ती हुने भएकाले उनीहरूले दुःख गरेर कमाएको पारिश्रमिकमा समेत अनियमितता हुन नहुने उनले बताए।
सांसद सुनारले खरिद प्रक्रिया र ठेकेदार छनोटमै अनियमितता भएको हुन सक्ने आशंका व्यक्त गर्दै प्रहरी संगठन र ठेकेदारबीचको सम्भावित सम्बन्ध तथा मिलेमतोबारे समेत अनुसन्धान गर्नुपर्ने बताए। जिल्लास्तरमा प्रहरीका लागि सामग्री खरिद गर्दा प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र ठेकेदारबीचको सम्बन्धबारे समेत अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
प्रहरीको खरिद प्रक्रियासम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा परेको विषयमा समेत निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए। उनले तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई समेत जिम्मेवारीबाट अलग गरेर अनुसन्धान गर्नुपर्ने माग गरे। आरोपित व्यक्ति पदमै रहँदा प्रमाण प्रभावित पार्न सक्ने जोखिम रहेको उल्लेख गर्दै सुनारले सम्बन्धित ठेकेदार र प्रहरी अधिकारीबीच भएको सम्भावित सम्पर्क तथा आर्थिक कारोबारलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए।
‘आरोप लागेका व्यक्ति पदमै बसेर आफूविरुद्धको छानबिनमा प्रभाव पार्न सक्छ। बर्दी लाएर बसेर “ल, मलाई छानबिन गर” भन्न पाइँदैन,’ उनले भने।
उनले आवश्यक परे सम्बन्धित व्यक्तिका मोबाइल तथा अन्य प्रमाण नियन्त्रणमा लिएर फौजदारी कसुरको कोणबाट समेत अनुसन्धान गर्नुपर्ने बताए।
