

२५ कात्तिक, धनगढी । बैतडी कांग्रेसबाट एक दर्जन नेता कार्यकर्ता निकालिएका छन् ।
नेपाली कांग्रेस बैतडीले १२ जना नेता कार्यकर्तालाई पार्टीको अनुशासन उल्लंघन गरेको, बागी उम्मेदवारलाई सहयोग गरेको र पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको कांग्रेसको अनुशासन समिति बैतडीका संयोजक देवराज जोशीले बताए ।
जोशीका अनुसार ६ जनालाई पार्टीको केन्द्रीय कार्यालयले कारबाही गरेको छ, भने ६ जनालाई जिल्ला अनुशासन समितिले कारबाही गरेको हो । पार्टी निर्णयविरुद्ध ‘बागी’उम्मेदवारी दिएका केशवबहादुर चन्द र हरिमोहन भण्डारी, उनका समर्थक र प्रस्तावकलाई केन्द्रीय कार्यालयले पार्टीबाट निष्कासन गरेको बताए ।
पाटन नगरसभापति मानबहादुर ऐर, सिगास गाउँ उपसभापति धनबहादुर साउँद, दलित संघ अध्यक्ष रमेश कोली, महिला नेतृ सरस्वती कोली, पाटन नगर सहसचिव कृष्णा पन्त लगायतलाई पार्टीबाट कारबाही गरिएको बताइएको छ ।
यस्तै, पार्टीका उम्मेदवारविरुद्ध लागेका र पार्टीको विधान विपरीत लागेका केही नेता कार्यकर्ताहरुलाई स्पष्टीकरण सोधिएको छ । कति जनालाई स्पष्टीकरण सोधिएको भन्ने विषयमा कांग्रेसले खुलाएको छैन ।

