
काठमाडौँ । काठमाडौँमा भएको एउटा लुटमा प्रहरीका सहायक हवलदार नै संलग्न देखिएका छन् । टोखामा भएको लुटपाटमा मा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई केही दिनअघि प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । सहायक हवलदार र सिन्धुपाल्चोक घर भएका जीवन घतानी बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए । प्रहरीले उनीहरूको साथबाट १ लाख २३ हजार नगद बरामद गरेको छ ।
आरोपीहरूले एकजना व्यक्तिलाई सस्तोमा ‘खसीबोका मिलाइदिन्छौ’ भनेर टोखा क्षेत्रमा बोलाएर लुटेको प्रहरीको अनुसन्धानले देखाएको छ । पीडितले आफ्नो २५ लाख लुटपाट भएको दाबी गरेका छन् । तर, उनको दाबीबारे पनि अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए । उनले भने, ‘दाबी अनुसारकै परिणाममा बरामद भएको छैन ।’
प्रहरी वृत्त महाराजगञ्जले उनीहरूमाथि लुटपाट सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सहायक हवलदार शाही अस्पताल जान्छु भनेर निस्केका थिए । अस्पतालमा जाने बहाना बनाएर कार्यालयबाट निस्केर उनी टोखामा लुट्न गएको अनुसन्धानले देखाएको छ ।

