३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ

cp new add
Nisharg hospital

 सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालिका हराएपछि प्रहरीसँगै खोजीमा खटिएका युवकसमेत रहेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा सोही उपमहानगरपालिका–२ का सुमन थापा पक्राउ परेका हुन्। प्रहरीले थापालाई घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेका छन्।

बालिकाको शव भेटिएपछि ‘कसले हत्या गरेछ, जसरी पनि पक्राउ गर्नुपर्छ’ भन्दै घटनास्थल वरपर प्रहरीसँगै हिँडडुल गरेका थापा नै अनुसन्धानको क्रममा पक्राउ परेका हुन्।

मंगलबार साँझ बारा प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान सुरु गरेको थियो। त्यतिबेला थापा पनि घटनास्थलमै थिए। कुकुरले संकेत गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले बताएका छन्।

सुमन वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन्। उनले काम गर्ने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। यद्यपि घटनामा आफ्नो मात्रै संलग्नता रहेको सुमनले प्रहरीसमक्ष बयान दिएका छन्।

मृतक बालिकाको घर नजिकै म्याजिक चालक चौधरीको घर रहेकाले गरिमा त्यहाँ आउजाउ गर्ने गरेको बताइएको छ। आइतबार बिहानदेखि बालिका बेपत्ता भएपछि परिवारले प्रहरीमा खबर गरेका थिए। खोजतलास जारी रहे पनि बालिकाको हत्या भइसकेको अनुमान तत्काल हुन सकेको थिएन।

प्रहरी अनुसन्धानका क्रममा आइतबार बिहान सुमनले चालक प्रोग्रेस चौधरीको घरबाटै बालिकालाई घटनास्थलतर्फ लगेको खुलेको छ। प्रहरीसमक्षको बयानमा उनले बलात्कारपछि बालिका बेहोस भएको बताएका छन्। एक प्रहरी अधिकृतका अनुसार उनले बालिकालाई डोरीमा झुण्ड्याएर त्यहाँबाट फर्किएको र पछि पुनः घटनास्थलमा गई शवलाई कपडामा पोको पारेर व्यवस्थापन गरेको बताएका छन्।

गरिमा जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन्। उनको हत्यापछि परिवार शोकमा डुबेको छ। आमा मानमती चौधरी अर्धचेत अवस्थामा रहेकी र बोल्न सक्ने अवस्थामा नरहेको आफन्तले बताएका छन्।

आइतबार बिहान करिब साढे ८ बजेदेखि बेपत्ता भएकी गरिमाको शव घरबाट करिब २०० मिटर टाढाको एउटा खाली घरमा मंगलबार साँझ फेला परेको थियो। गाउँको बीचमा रहेको उक्त खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित खोजी गर्दा कपडामा पोको पारिएको अवस्थामा शव फेला परेको थियो।

यसैबीच, बालिकाको बलात्कार र हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गर्दै स्थानीयले बुधबार सिमरामा प्रदर्शन गरेका छन्। इलाका प्रहरी कार्यालय सिमरा अगाडि भेला भएका स्थानीयले दोषीलाई कडा सजाय दिन माग गरेका हुन्।

प्रदर्शनका कारण बुधबार दिउँसोदेखि वीरगञ्ज–पथलैया सडकखण्डमा यातायातसमेत अवरुद्ध भएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...