शवका अंगको बिक्री प्रकरण : हार्वर्ड मेडिकल स्कुलले ४७ पीडित परिवारलाई ५ करोड ३० लाख डलर क्षतिपूर्ति दिने


अमेरिका । अमेरिकाको प्रतिष्ठित हार्वर्ड मेडिकल स्कुलले पूर्व शवगृह व्यवस्थापकले दान गरिएका शवका अंग चोरी गरी बिक्री गरेको घटनाबाट प्रभावित ४७ परिवारलाई ५ करोड ३० लाख डलर क्षतिपूर्ति दिने सहमति गरेको छ। अदालतको स्वीकृतिपछि दुईवटा सामूहिक मुद्दा टुंग्याउन उक्त रकम वितरण गरिने भएको हो।

हार्वर्डका पूर्व शवगृह व्यवस्थापक सेड्रिक लजले सन् २०१८ देखि २०२३ सम्म चिकित्सा शिक्षा र अनुसन्धानका लागि दान गरिएका शवबाट मस्तिष्क, छाला, हात र अनुहारलगायत अंग निकालेर बिक्री गरेको अभियोगमा दोषी ठहरिएका थिए। उनले शव अन्तिम संस्कारका लागि पठाउनुअघि अंग निकाल्ने गरेको स्वीकार गरेका थिए।
लजकी पत्नी डेनिस लजसहित शवका अंग खरिद गर्ने अन्य व्यक्तिहरूलाई पनि यस घटनामा दोषी ठहर गर्दै सजाय सुनाइएको थियो। हार्वर्डले लजको कार्य संस्थाको जानकारी वा अनुमतिबिना भएको जनाएको छ। मेडिकल स्कुलका अधिकारीहरूले घटनालाई अत्यन्त घृणित तथा चिकित्सा समुदायका मूल्य–मान्यतामाथिको गम्भीर विश्वासघात भन्दै प्रभावित परिवारसँग क्षमा मागेका छन्।
सम्झौताको हिस्साका रूपमा हार्वर्डले शवदान कार्यक्रमलाई थप सुधार गर्ने जनाएको छ। साथै, चिकित्सा शिक्षा र अनुसन्धानका लागि शरीर दान गर्ने व्यक्तिहरूको सम्मानमा सन् २०२७–२८ देखि छात्रवृत्ति कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ।
