
काठमाडौं । पेटभित्र लुकाएर ल्याएको सुनसहित एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोहम्मद रसेल हवल्दार छन् । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो । फ्लाई दुबईको एफजेट११३३ बाट उनी ३१ साउनमा काठमाडौं आएका थिए । शंका लागि सादा पोशाकको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि उनले १५० ग्राम सुन पेटमा लुकाएर ल्याएको प्रहरीलाई बताएका थिए । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा जाँच गराउँदा सुन भएको पुष्टि भयो । शौचालय गराउँदा समेत उक्त सुन अड्किएर बसेको थियो ।
त्यसपछि अस्पतालमा भर्ना गरेर ५ दिनमा पेटभित्रको सुन शौच गर्न लगाएर निकालिएको एसपी राजकुमार सिलवालले बताए । क्याप्सुल आकार २ थान सुनका डल्लासहित उनलाई भन्सार कार्यालयमा बुझाइएको छ ।

