अछाममा कांग्रेसी ठेकेदारको गुणस्तरहीन काम, खानेपानीको ट्यांकी २ महिना पनि टिकेन

cp new add
Nisharg hospital

अछाम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको चौरपाटी गाउँपालिका–१ मा खानेपानीको समस्या समाधान गर्ने उद्देश्यले विनियोजन गरेको २५ लाख रुपैयाँको लगानी जोखिममा परेको छ । रजनखेत–चौरपाटी लिफ्ट खानेपानी योजनाअन्तर्गत निर्माण गरिएका संरचना काम सम्पन्न भएको करिब २ महिनामै भत्किन थालेका हुन् ।

Nast Ad

गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त योजनाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । योजनाको काम कांग्रेस नेता भरत शाहले गरेका थिए । उनले प्रियांन्सी निर्माण सेवा नामबाट ठेक्का हालेर खानेपानीको काम गरेको खुलेको छ ।
चौरपाटी गाउँपालिकाका इन्जिनियर लोकेन्द्र बहादुर रावलका अनुसार ठेक्का २९ प्रतिशत कममा परेको थियो ।
तर ठेकेदारसमेत रहेका नेता शाहले गरेको काममाथि गम्भिर प्रश्न चिन्ह खडा भएको छ । आर्थिक वर्षको अन्तिम समयमा निर्माणको काम सम्पन्न गरी ठेकेदारले भुक्तानीसमेत लिइसकेका छन् ।

तर, भुक्तानी भएको करिब दुई महिना नबित्दै खानेपानी योजनाका लागि निर्माण गरिएका ट्यांकी तथा अन्य संरचना भत्किन थालेका छन् । कतिपय संरचना हातले छोए पनि भत्किने अवस्थामा पुगेको स्थानीयले आरोप लगाएका छन् ।

विशेषगरी खानेपानीको मुहानमा निर्माण गरिएको ट्यांकीको अवस्था निकै दयनीय देखिएको छ । ट्यांकीको एक भाग पूरै चर्किएर आधा झरिसकेको छ । अन्य संरचनामा समेत गुणस्तरहीन सामग्री प्रयोग गरिएको र निर्माणमा आवश्यक मापदण्ड पालना नगरिएको आरोप स्थानीयले लगाएका छन् । खानेपानीको अभाव झेलिरहेका सिउँडी क्षेत्रका नागरिकका लागि उक्त योजना ठूलो राहत बन्ने अपेक्षा गरिएको थियो ।

तर ठेकेदार शाहले गरेको कामले नागरिकहरुमा निराशा छाएको छ । शाहका कारणले प्रदेश सरकारको बजेट बालुवामा पानी जस्तै बनेको छ । सार्वजनिक रकम खर्च गरेर निर्माण गरिएको संरचना यति छोटो समयमै भत्किनु सामान्य विषय नभएको भन्दै छानबिन र प्राविधिक परीक्षणको माग गरेका छन् ।

यता गाउँपालिकाका इन्जिनियर रावलले भने ठेकेदारलाई बोलाइएको बताए । उनले ठेकेदार शाहलाई बोलाइएको र गुणस्तरहीन भए पुनःनिर्माण गर्न लगाउने उनले जानकारी दिए । आज इन्जिनियरसहितको प्राविधिक टोली अनुगमन गर्न जाँदैछ ।

ठेकेदार शाहले गरेका हरेक काममा प्रश्न उठ्ने गरेको छ । तर पनि पालिकाका ठूला योजनाहरु उनले नै पाउने गरेका छन् । ठेक्का पाउनका लागि उनले सबैतिर सेटिङ मिलाउने गरेको आरोप छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...