
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४ जना सम्पर्कविहीन भएका छन् । बाढी प्रभावित क्षेत्रमा कार्यरत आफन्तसँग सम्पर्क हुन नसकेपछि परिवारजनले खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र प्रहरीसँग गुहार मागेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बाढी प्रभावित क्षेत्रमा रहेका तथा हालसम्म परिवारको सम्पर्कमा नआएका व्यक्तिको विवरण उपलब्ध गराउन बुधबार साँझ सार्वजनिक सूचना जारी गरेको थियो ।
त्यसपछि सम्पर्कविहीन व्यक्तिका आफन्त प्रहरी कार्यालयमा पुगेर खोजीका लागि आग्रह गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार हालसम्म कञ्चनपुरका २४ जनाका आफन्तले खोजी तथा उद्धारका लागि प्रहरीसँग सम्पर्क गरेका छन् ।
कुन स्थानीय तहका कति
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिकाका ७ जना, लालझाडी गाउँपालिकाका १ जना र बेदकोट नगरपालिकाका २ जना छन् ।
यसैगरी, प्रहरीको सूचनापछि डडेल्धुराका एक र बैतडीका दुई जनाका आफन्तले समेत सम्पर्क गरी खोजीका लागि आग्रह गरेका छन् ।
प्रवक्ता रावतका अनुसार सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत मजदुर छन् । त्यसबाहेक नेपाली सेनाका दुई, नेपाल प्रहरीका एक तथा भन्सार र वन कार्यालयमा कार्यरत कर्मचारीसमेत रहेको विवरण प्राप्त भएको छ ।
“खोजी कार्यमा सहज होस् भनेर जिल्लामै विवरण सङ्कलन गरिरहेका छौँ,” रावतले भने।
भोटेकोशी बाढीका कारण रसुवामा ठूलो क्षति भएपछि कञ्चनपुरसहित विभिन्न जिल्लाका परिवारमा आफ्ना आफन्तको अवस्थाबारे चिन्ता बढेको छ। स्थानीय प्रशासनले पनि बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

