
आज रक्षाबन्धन हो
तर देशको मुटुमा
खुसीभन्दा बढी पीडा छ।
कसैको हातमा राखी बाँधिनुपर्ने थियो,
तर कतै त्यही हात
आफ्नो मान्छेको खोजीमा भौतारिएको छ।
कतै बाढीले बस्ती बगाएको छ
कतै पहिरोले सपना पुरेको छ
कतै आमाको काख रित्तिएको छ
कतै दिदी–भाइको सम्बन्ध
विपत्तिको भेलमा छुटेको छ।
यस्तो बेला कसरी मनाउ रक्षाबन्धन ?
आज नाडीमा धागो बाँध्नुभन्दा पहिले
एकपटक देशको घाउ छामौँ
कसैको घर भत्किएको छ भने
आफ्नो हातले एउटा इँटा थपौँ
कसैको चुलो निभेको छ भने
आफ्नो थालबाट एक गाँस बाँडौँ
कसैको आँखामा आँसु छ भने
आफ्नो काँध थापौँ।
किनकि नेपाल
हिमाल, पहाड र तराई मात्र होइन
दुःखमा एक–अर्काको हात समाउने
करोडौँ नेपाली मुटुको नाम हो।
आज राखीको धागोसँगै
एउटा संकल्प पनि बाँधौँ
देश दुख्दा हामी दुख्नेछौँ
देश रुदा हामी साथ दिनेछौँ
र देश उठ्दा सङ्गै उठ्नेछौ।
पर्वहरू फेरि आउँछन्
राखी फेरि बाँधिन्छ
घरहरू फेरि हाँस्छन्।
तर आज
कसैको आँसु पुछ्न सकियो भने
त्यही नै हुनेछ
आजको सबैभन्दा ठूलो रक्षाबन्धन।
जय नेपाल।

