देश दुख्दा पर्व अधुरो: कविता चन्द्र प्रकाश पण्डित

cp new add
Nisharg hospital

आज रक्षाबन्धन हो
तर देशको मुटुमा
खुसीभन्दा बढी पीडा छ।

कसैको हातमा राखी बाँधिनुपर्ने थियो,
तर कतै त्यही हात
आफ्नो मान्छेको खोजीमा भौतारिएको छ।

कतै बाढीले बस्ती बगाएको छ
कतै पहिरोले सपना पुरेको छ
कतै आमाको काख रित्तिएको छ
कतै दिदी–भाइको सम्बन्ध
विपत्तिको भेलमा छुटेको छ।

यस्तो बेला कसरी मनाउ रक्षाबन्धन ?

आज नाडीमा धागो बाँध्नुभन्दा पहिले
एकपटक देशको घाउ छामौँ
कसैको घर भत्किएको छ भने
आफ्नो हातले एउटा इँटा थपौँ
कसैको चुलो निभेको छ भने
आफ्नो थालबाट एक गाँस बाँडौँ
कसैको आँखामा आँसु छ भने
आफ्नो काँध थापौँ।

किनकि नेपाल
हिमाल, पहाड र तराई मात्र होइन
दुःखमा एक–अर्काको हात समाउने
करोडौँ नेपाली मुटुको नाम हो।

आज राखीको धागोसँगै
एउटा संकल्प पनि बाँधौँ
देश दुख्दा हामी दुख्नेछौँ
देश रुदा हामी साथ दिनेछौँ
र देश उठ्दा सङ्गै उठ्नेछौ।

पर्वहरू फेरि आउँछन्
राखी फेरि बाँधिन्छ
घरहरू फेरि हाँस्छन्।

तर आज
कसैको आँसु पुछ्न सकियो भने
त्यही नै हुनेछ
आजको सबैभन्दा ठूलो रक्षाबन्धन।
जय नेपाल।

Navjeen New Ad
Loading...