
काठमाडौं । भोटेकोशी बाढीका कारण अलपत्र परेका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ र ९ जना कोरियाली पर्यटक छन् । यस्तै, २ अमेरिकी र २ इटालियन नागरिकको पनि उद्धार गरिएको छ । उद्धार गरिएका अन्य ३ जनाको पहिचान खुल्न बाँकी छ ।
भोटेकोशी बाढीपछि अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको बताइएको छ । ट्रेकिङ तथा टूर कम्पनीहरूका अनुसार कैलाश मानसरोवर यात्रामा गएका धेरै पर्यटकसमेत सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ ।

