
काठमाण्डौं । एसिसी प्रिमियर कपका लागि मलेसियामा रहेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढी प्रभावितका लागि सहयोग घोषणा गरेका छन् । लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) बाट आफूले प्राप्त गर्ने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
त्यसैगरी, एसीसी प्रिमियर कपभरि नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५ सय रुपैयाँ र टोलीले प्रहार गर्ने हरेक चौका तथा छक्काबापत थप १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने उनले बताएका छन् । उनका अनुसार उक्त रकम बाढीबाट प्रभावित बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ । विपद्का कारण बालबालिकाको शिक्षा र भविष्य प्रभावित हुन नदिन आफूले यो सहयोग गर्न लागेको लामिछानेले बताएका छन् ।
नेपालमा विपद्का कारण कठिन परिस्थिति सिर्जना भइरहेका बेला टोली देशबाहिर रहे पनि आफूहरूको मन भने स्वदेशमै रहेको उनले उल्लेख गरेका छन् । लामिछानेले भनेका छन्, “नतिजाभन्दा पनि हाम्रो प्रदर्शनले स्वदेशमा रहेका मानिसको अनुहारमा केही मुस्कान ल्याओस् र उनीहरूलाई खुसी हुने एउटा कारण मिलोस् भन्ने हाम्रो चाहना हो ।”
उनले एसीसी प्रिमियर कपमा नेपाली टोलीले मैदानमा आफ्नो शतप्रतिशत दिने प्रतिबद्धता जनाउँदै हरेक विकेट, हरेक बाउन्ड्री र समर्थकको हरेक उत्साह नेपालका लागि समर्पित हुने बताएका छन् ।
“हामी घरबाट धेरै टाढा हुन सक्छौँ, तर नेपाल सधैँ हाम्रो हृदयमा छ । नेपालका लागि खेलौँ, घरमा मुस्कान ल्याऔँ,” लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

