
महाकाली नदीमा हामफालेकी एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दार्चुलाको लेकम गाउँपालिका–६ घर भएकी २१ वर्षीया सुस्मिता खत्रीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित पक्की पुलबाट महाकाली नदीमा हामफालेकी थिइन्।
आज दिउँसो करिब २ः१० बजे उनी नदीमा हामफालेको सूचना पाएपछि प्रहरीले तत्काल घटनास्थलमा पुगेर उनको उद्धार गरेको हो। उद्धारपछि खत्रीलाई उपचारका लागि दोधारा चाँदनी अस्पताल लगिएको थियो। थप उपचार आवश्यक देखिएपछि उनलाई महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

