
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ। जापानले नेपालका लागि आपत्कालीन राहत सामग्रीसँगै अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोली पठाउने तयारी गरेको छ।
जापानको परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार दिउँसो दुई प्रधानमन्त्रीबीच करिब १० मिनेट टेलिफोन वार्ता भएको हो। वार्ताका क्रममा जापानी प्रधानमन्त्री ताकाइचीले गत अगस्ट २६ मा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावितहरूप्रति सहानुभूति प्रकट गरेकी थिइन्।
संकटको यस घडीमा लामो समयदेखिको मित्रराष्ट्र नेपालको साथमा जापान दृढतापूर्वक उभिएको उनले बताइन्। प्रधानमन्त्री ताकाइचीले हाल सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको खोजी तथा उद्धारका लागि अधिकतम सहयोग गर्न प्रधानमन्त्री शाहसँग आग्रहसमेत गरेकी छन्।
जापानले नेपालका लागि घोषणा गरेका त्रिपाल र ब्ल्याङ्केटलगायतका आपत्कालीन राहत सामग्री छिट्टै नेपाल पठाउने जानकारी पनि ताकाइचीले दिएकी छन्। यस्तै, अन्तर्राष्ट्रिय संघसंस्थामार्फत थप सहयोग उपलब्ध गराउनुका साथै जापानबाट अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोली नेपाल पठाउने तयारी भइरहेको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ।
जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद्बाट भएको क्षति तथा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार र राहत प्रयासबारे जापानी समकक्षीलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री शाहले जापानी सरकार र जापानी जनताले देखाएको सहानुभूति, सहयोग तथा ऐक्यबद्धताप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।

