
२८ कात्तिक, दार्चुला । आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् ।

गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका प्रहरीले जनाएको छ ।
नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ता बीच आइतबार झडप भएको थियो ।
जिल्लाभरीबाट सयौं कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा राखेर सडक बन्द गरेको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए ।
गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने बताउँदै आएका छन् ।
उनका अनुसार सडक अवरुद्ध भएकाले नौगाडमा भएको चुनावी सभामा गएका एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा घर फर्कन पाएका छैनन् । कार्यक्रममा लागि गएका कलाकारसहितका सहभागीहरु होपरीगाड जामिर क्षेत्रमै रोकिएका छन् ।
नेकपा माओवादी दार्चुलाका नेता खडकसिंह धामीले घरमै बसिरहेका सर्वसाधारण नागरिकलाई समेत एमाले कार्यकर्ताले घरमै गएर कुटेको र आफूहरुले त्यसको विरोध गरेको बताए । ‘यो झडप हैन्, हाम्रा मान्छेमाथि सयौंले एकै जनालाई कुटपिट गरेका हुन्’ उनले भने ।
चुनावीसभामा जाने क्रममा वडा नम्बर ६ बाट जाने गाडी तथा सर्वसाधारण रोकेपछि झडपको अवस्था आएको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिह ठगुन्नाले बताए । ‘कार्यक्रममा जाने मान्छे रोकिए, एमालेको झण्डा च्यातियो,’ उनले भने, ‘बुढाबुढीमाथि कुटपिट भएपछि झडप भएको हो ।’
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सुरक्षाबैठक राखेर सडक खुलाउने प्रयास भए पनि गठबन्धनले नमानेका कारण नसकिएको बताए । उनले भने ‘रातभर प्रयास ग¥यौं तर समाधान हुन सकेको छैन् ।’

