
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन ठूलो षड्यन्त्रमार्फत ‘हाइज्याक’ गरिएको दाबी गरेका छन्।
सिन्धुपाल्चोकमा मंगलबार आयोजित कार्यक्रममा सहभागी हुँदै प्रचण्डले जेनजी आन्दोलनमा घुसपैठ गर्ने र आन्दोलनलाई अपहरण गर्नेहरूबारे गहिरो अध्ययन आवश्यक रहेको बताए। ‘त्यो घुसपैठ गर्ने को थिए र तिनले अहिले देशलाई कहाँ पुर्याए भन्ने कुरा त्यो विन्दुबाट गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘समयको साथमा सत्यहरू उद्घाटित हुँदै जानेछन्।’
प्रचण्डले मानवअधिकार आयोग र सुरक्षा निकायहरूले तयार पारेका जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सरकारमा रहेकाहरूले गायब पारेको आरोपसमेत लगाए। ‘म सुन्दै छु, आज म कसैप्रति आरोप लगाउन चाहेको छैन। तर ती प्रतिवेदनहरू गायब पारिएका छन्। अहिले सरकारको जिम्मेवारीमा हुनेहरूले गायब पारेका छन् भन्ने आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘सत्यतथ्य के हो?’
उनले भदौ २४ गते भएको विध्वंस कसले गर्यो भन्ने प्रश्न गर्दै त्यसबारे पनि सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए। ‘२३ गते नै घर फर्किनू, घुसपैठ भयो, अपहरण भयो हाम्रो आन्दोलन भन्नेहरूले त पक्कै चलाएको होइन,’ प्रचण्डले भने, ‘यी कुराहरूमा आज हामी सबैले चिन्तन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउन आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने आवश्यकता छ।’

