जनतासँग सम्बन्ध टाढिएपछि एमाले कमजोर भयो : प्रदीप ज्ञवाली

cp new add
Nisharg hospital

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टुट्दै गएका कारण पार्टी कमजोर बनेको स्वीकार गरेका छन्।

मंगलबार मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रममा बोल्दै ज्ञवालीले एमालेका नेता–कार्यकर्ता जनपरिचालनभन्दा सीडीओ, प्रहरी र प्रशासकीय अधिकृतको सरुवामा केन्द्रित हुँदा जनसम्बन्ध कमजोर बनेको बताए।

‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो, राजर्षी भयो,’ ज्ञवालीले भने, ‘हाम्रो ध्यान सीडीओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्‍यायो। यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ।’

उनले फागुनको निर्वाचनमा एमालेले कमजोर नतिजा व्यहोर्नुमा पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु पनि प्रमुख कारण रहेको बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह–उपसमूहको निर्माण तथा निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा पार्टी कमजोर भएको उनको भनाइ थियो।

‘गत वर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो, तर यस वर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,’ ज्ञवालीले भने, ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो।’ उनले संविधान मिचिँदा वा एमालेका नेतामाथि सरकारले ज्यादती गर्दा समेत जनता सडकमा नआउनु पार्टी र जनताबीचको सम्बन्ध कमजोर भएको संकेत भएको बताए।

ज्ञवालीले २०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण परिवर्तन गरेको भन्दै त्यसले पनि जनतामा पार्टीप्रति नकारात्मक धारणा बनेको बताए। ‘सरकारमा भित्रिने वा बाहिरिने कारण हामीले जनतालाई भनेनौँ,’ उनले भने, ‘आखिर प्रचण्ड सुध्रिएर हामी सत्तामा गएका थियौँ कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन्।’

प्रचण्ड नेतृत्वको सरकारबाट हठात् बाहिरिएर कांग्रेससँग सहकार्य गर्दा जनतामा नकारात्मक सन्देश गएको उनको भनाइ थियो। ज्ञवालीले अब एमालेले जनताका समस्या पहिचान गर्ने, तिनलाई उठाउने र समाधान दिने दिशामा काम गर्नुपर्नेमा जोड दिए। पार्टीको भेला महोत्तरीमा जारी छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...