प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसको एक करोड सहयोग

cp new add
Nisharg hospital

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण कार्यक्रममा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए ।

१० भदौमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण कैयौं परिवार विस्थापित हुनुका साथै सडक, पुललगायत भौतिक संरचनामा क्षति पुगेको छ । महामन्त्री पौडेलले बाढीपीडितको उद्धार, राहत, पुनर्निर्माण तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको बताए ।

उनले बाढी तथा पहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरे । त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा समेत उनले जोड दिए ।

राहत वितरण पारदर्शी बनाउन र समग्र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै पौडेलले बेपत्ताको खोजी तथा विस्थापितको दीर्घकालीन पुनर्स्थापनामा पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...