
कञ्चनपुरमा सर्पको टोकाइबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
भीमदत्त नगरपालिका–१०, सुकासालकी ३३ वर्षीया संगीता बडूको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।
भदौ ५ गते सर्पले हातमा टोकेपछि बडूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। आकस्मिक कक्षबाट आईसीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार गरिएको २१ दिनपछि उनको मृत्यु भएको हो।
मृतकका परिवारले भने अस्पतालको लापरबाहीका कारण संगीताको मृत्यु भएको आरोप लगाएका छन्। मृतककी आमा मञ्जुदेवी बडूले आकस्मिक कक्षमा ड्युटीमा रहेका मेडिकल अधिकृत सन्तोषी चौधरीको टोलीले उपचारमा लापरबाही गरेको आरोप लगाइन्।
उनका अनुसार उपचारमा ढिलाइ गरिएको, बिरामीको अवस्था गम्भीर भएपछि मात्रै आवश्यक उपचार सुरु गरिएको, आवश्यक सूचना तथा परामर्श नदिइएको र समयमै अन्यत्र रेफर गर्नसमेत आनाकानी गरिएको थियो।
‘छोरीलाई उपचारका लागि आकस्मिक कक्षमा ल्याएका थियौँ। सुरुदेखि नै लापरबाही गरियो,’ मञ्जुदेवीले भनिन्, ‘मेडिकल अधिकृत सन्तोष चौधरीले अनकलमा रहेका विशेषज्ञ चिकित्सकलाई समेत बोलाउनुभएन।’
चिकित्सकको लापरबाहीकै कारण छोरीको मृत्यु भएको दाबी गर्दै मञ्जुदेवीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन्।
पीडित पक्षसँग भएको छलफलमा अस्पताल व्यवस्थापन समितिका सदस्य प्रशान्त भट्टले उपचारका क्रममा बिरामीको मृत्यु हुनु दुःखद घटना भएको बताए। उनले घटनाको निष्पक्ष छानबिन गर्ने र दोषी देखिए कारबाहीका लागि आवश्यक पहल गर्ने बताए।
‘उपचारकै क्रममा बिरामीको ज्यान जानु आफैँमा दुःखद विषय हो,’ भट्टले भने, ‘घटनाको निष्पक्ष छानबिन हुन्छ। दोषी देखिए कारबाहीका लागि आवश्यक पहल गरिनेछ।’
यता, मेडिकल अधिकृत सन्तोष चौधरीले भने आफूले आफ्नो कर्तव्य तोकिएको विधिअनुसार निर्वाह गरेको दाबी गरेका छन्। आकस्मिक कक्षमा आउने हरेक बिरामी तथा घाइतेको उपचार र रेफर प्रक्रिया निर्धारित विधिअनुसार हुने भन्दै उनले आफूले पनि सोहीअनुसार काम गरेको बताए।
चौधरीले आफूभन्दा सिनियर चिकित्सक टेकनारायण श्रेष्ठलाई समेत बिरामीको अवस्थाबारे पटक–पटक जानकारी गराएको दाबी गरेका छन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले पीडित पक्षबाट लिखित निवेदन आए घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्न अस्पताल प्रशासनलाई अनुरोध गर्ने बताए।
‘घटनाको सत्यतथ्य छानबिन हुन्छ। यदि उपचारमा चिकित्सक वा स्वास्थ्यकर्मीबाट लापरबाही भएको पाइए उनीहरू कारबाहीको भागीदार हुन्छन्,’ पन्तले भने, ‘पीडितले न्याय पाउनुपर्छ। अस्पताल बिरामी निको पार्ने थलो हो। यहाँ बिरामीको स्वास्थ्यसँग खेलवाड गर्न कसैलाई छुट छैन।’

