डडेल्धुराका ३ घर्ती दाजुभाइको एकै चिहान, कुशको शव बनाइ सामूहिक अन्त्येष्टि

रसुवा बाढी

cp new add
Nisharg hospital

धनगढी । १० भदौको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता डडेल्धुराका तीन सहोदर दाजुभाइको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।

घटना भएको २२ दिन बित्दा समेत अवस्थाबारे यकिन नभएपछि आलिताल गाउँपालिका–७ का टेकबहादुर घर्तीको परिवारले बिहीबार कुशकोे शव बनाएर उनीहरुको सामूहिक अन्त्येष्टि गरेको होे ।

टेकबहादुरकाअनुसार रसुुवा बाढीमा बेपत्ता तीन छोरा दिपक घर्ती(३०), राजेश घर्ती(२७) र किरण घर्ती(१८) को परम्पराअनुसार बिहीबार कुुशको शव बनाएर स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ ।

घटनापछि घर्तीले काठमाडौँ तथा चितवन पुगेर आफैले छोराको खोजी गरेका थिए । तर नभेटाएपछि छोराको आशा मार्दै सामूहिक अन्त्येष्टि गरेका हुन् । ‘तीनै जना छोरा लाङपाङ हाइड्रो पावरमा काम गर्थे । बाढी आएपछि आफै त्रिशूली पुगेको थिए, टेकबहादुर भने, ‘तर, छोराको लाश र सास भेटाएन । यतिका दिनसम्म अत्तोपत्तो नभएपछि कुशको शव बनाएर अन्त्येष्टि गरेका हौँ ।’

विगत चार वर्षदेखि हाइड्रो पावर कम्पनीमा काम गर्दै आएका उनीहरु गत बैशाखमा मात्र रसुवा गएका थिए । बेपत्ता भएका जेठो छोरा दिपकका श्रीमती र तीन जना छोराछोरी छन् भने राजेशका पनि दुई छोरा छन् ।

कान्छा छोरा किरण भने अविवाहित थिए । उनीहरु नियमितजसो घरमा कुराकानी गरिरहन्थे । घटना भएको दिन समेत छोरा राजेशले बिहान साढे ८ बजेतिर फोनमा कुराकानी गरेको टेकबहादुर बताउँछन् ।

बाढीमा बेपत्ता आलिताल गाउँपालिका–८ का चन्द्रबहादुर जर्घाको पनि कुुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । नातामा उनका दाजु पर्ने डम्मर जर्घामगरकाअनुसार २७ भदौमा परिवारले उनको अन्त्येष्टि गरेका हुन् ।

आलितालकै ११ जना बेपत्ताको अत्तोपत्तो छैन

रसुवा बाढीमा आलिताल गाउँपालिकाका मात्र ११ जना बेपत्ता भएका छन् । गाउँपालिकाकी उपाध्यक्ष मैनाकुमारी रावलकाअनुसार वडा नम्बर ३ का ७ जना, वडा नम्बर ७ का तीन जना सहोदर दाजुभाइ र वडा नम्बर ८ का एक गरेर ११ जना बेपत्ता छन् ।

वडा नम्बर ३ का इन्जिनियर समेत रहेका नवीन साउद, गोविन्द रामजाली, गौरव रामजाली, उमेश बुढा, लक्ष्मण रामजाली, दिनेश रामजाली र सुन्दर बुढा बाढीमा बेपत्ता भएको रावलले बताइन् ।

उनीहरुको खोजीका लागि गाउँपालिका अध्यक्ष शेरसिंह पार्की नेतृत्वको टोली चितवन तथा काठमाडौँ पुगेको थियो । अस्पतालमा राखिएका सबैजसो शव समेत हेरिएको थियो तर पत्तो नै नलागेपछि पालिकाको टोली फर्किएको थियो ।

परिवारका सदस्य समेत खोजीका लागि पालिकाको टोलीमा गएका थिए । तर बेपत्ता आफन्त फेला नपरेपछि भने परिवारले कुशको शव बनाएर धार्मिक परम्पराअनुसार अन्त्येष्टि काम थालेका छन् । उनीहरुको शवको पहिचानका लागि रगतको नमूना समेत दिइसकेका छन् ।

रसुवा बाढीमा सुदूरपश्चिम १२१ जना बेपत्ता छन् भने ४३ जना परिवारको सम्पर्कमा आइसकेको प्रदेश प्रदेश कार्यालय धनगढीको तथ्यांक रहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...