
धनगढी । कैलालीमा घरबाट बेपत्ता एक जना भीरमा मृत अवस्थामा भेटिएका छन् । चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा स्थानीय जंगलको भिरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरा सिंह महराले घरबाट हराएका बोहरा खोजी गर्ने क्रममा बोहरा चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलको भिरबाट तल मृत अवस्थामा फेला परेको जानकारी दिए ।
उनकाअनुसार घटनाअघि बोहरासहित ८ जना एकै ठाउँमा बसेर मदिरा सेवन गरेको खुलेको छ । सोही क्रममा साथमा रहेका व्यक्तिहरूले बोहरालाई ‘मारिदिन्छु’ भन्दै गरेको भिडियोसमेत फेला परेको प्रहरीले जनाएको छ ।
भिडियो र घटनाको प्रारम्भिक अवस्थाका आधारमा शंका लागेका नाम, थर र वतन नखुलेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट मृतकको टोपी, मोबाइल र चप्पलसमेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

