भागेश्वर–२ लाटामाडौँमा लाटादेवता मन्दिर निर्माण, २०६ दाताबाट ४ लाख ६१ हजार संकलन

cp new add
Nisharg hospital

धनगढी। भागेश्वर गाउँपालिका–२ लाटामाडौँमा लाटादेवता मन्दिर निर्माण सम्पन्न भएको छ।

अभियानकर्मी सिद्धराज पनेरु र दिलबहादुर मडैले सञ्चालन गरेको मन्दिर निर्माण सहयोग अभियानबाट संकलित रकमबाट मन्दिर निर्माण गरिएको हो। साउन १४ गतेदेखि सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानमा असोज ६ गतेसम्म २०६ जना दाताबाट ४ लाख ६१ हजार ३ सय ३५ रुपैयाँ संकलन भएको अभियानकर्मी सिद्धराज पनेरुले जानकारी दिए।

मन्दिरको साउन २८ गते वैदिक विधिपूर्वक शिलान्यास गरिएको थियो भने असोज ३ गते प्रतिष्ठा सम्पन्न भएको हो। हाल मन्दिर परिसरमा स्वागतद्वार र शौचालय निर्माणको काम भइरहेको बताइएको छ। कार्तिक नवरात्रको अष्टमीका दिन लाटादेवताको जात्रा आयोजना गरिने र सोही अवसरमा मन्दिर निर्माण अभियानको सम्पूर्ण आयव्यय सार्वजनिक गरिने अभियानकर्मी दिलबहादुर मडैले बताए। दाताहरूको नाम ब्यानर तथा शिलालेखमा समेत राखिने उनले जानकारी दिए।

अभियानकर्मी पनेरु र मडैले सहयोग गर्ने सम्पूर्ण दातालाई धन्यवाद दिँदै इच्छुक दातालाई अष्टमीअघि नै सहयोग गर्न अपिल गरेका छन्। मन्दिर निर्माणका लागि ७ देखि ८ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। सहयोग रकम असिग्राम मावि, रुपालका सेवानिवृत्त शिक्षक तथा असिग्राम मन्दिर, रुपालका भण्डारी दिलबहादुर मडैको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०९३००९१३२४६०००११ र सोही खाताको QR कोडमार्फत संकलन भइरहेको छ।

दाताले गरेको सहयोग रकमअनुसार १०१ देखि १ हजार रुपैयाँसम्म सहयोग गर्नेको नाम रजिस्टरमा अभिलेख राखिने, १ हजार १ देखि ५ हजार रुपैयाँसम्म सहयोग गर्नेको नाम मन्दिर परिसरमा राखिने दाता नामावली ब्यानरमा समावेश गरिने तथा ५ हजार १ रुपैयाँभन्दा माथि सहयोग गर्नेको नाम मन्दिर परिसरमा राखिने शिलालेखमा उल्लेख गरिने पनेरुले बताए।

समाजसेवी पनेरु यसअघि पनि विभिन्न सामाजिक तथा धार्मिक अभियानमा सक्रिय रहँदै आएका छन्। उनले रुपालस्थित अशिग्राम माविका लागि साउण्ड सिस्टम खरिद, अशिग्राम मन्दिरका लागि आवश्यक सामग्री खरिद, खिटकेश्वर मन्दिरमा बसाहा (नन्दी) स्थापना तथा परशुराम–३ थापलास्थित कैलपाल मन्दिरका लागि आवश्यक सामग्री सहयोग अभियान सञ्चालन गरेका थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...