
धनगढी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीलाई भन्सार अधिकृतले हप्कीदम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
अडियोमा एसपी केसीसँग फोनमा कुरा गर्ने व्यक्ति कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट भएको खुलेको छ। भट्टले गड्डाचौकी भन्सारबाट पास भइसकेको गाडी सशस्त्र प्रहरीले किन नियन्त्रणमा लिएको भन्दै एसपी केसीसँग प्रश्न गरेका छन्।
संवादका क्रममा भट्टले नियन्त्रणमा लिइएको गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन आग्रह मात्र गरेका छैनन्, गाडी नछाडिए गृहमन्त्री, प्रहरी महानिरीक्षक (आईजीपी) र भन्सार विभागका प्रमुखलाई फोन गर्ने चेतावनीसमेत दिएका छन्।
एसपी केसीले भने नियन्त्रणमा लिइएको भारतीय गाडी थप कारबाहीका लागि भन्सार कार्यालयमै बुझाउने बताएका छन्। यद्यपि सार्वजनिक भएको अडियोमा दुई जनाबीचको संवाद कुन गाडीको विषयमा हो भन्ने कुरा स्पष्ट रूपमा खुल्दैन।
तर, उक्त फोन संवाद अत्तरियामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतीय गाडीलाई टायर, ट्युबलगायतका सामानसहित नियन्त्रणमा लिएको घटनासँग सम्बन्धित रहेको खुलेको छ।
अत्तरियामा यूपी ३१ सीटी १३०३ नम्बरको भारतीय गाडी करिब २६ लाख रुपैयाँ बराबरको सामानसहित संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। उक्त गाडी गड्डाचौकी भन्सार कार्यालयबाट भन्सार प्रक्रिया पूरा गरी आएको थियो।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले भन्सारबाट सामानको कम मूल्यांकन गरी पास गरिएको भन्ने विशेष सूचनाका आधारमा गाडी नियन्त्रणमा लिएको जनाइएको छ। गाडी नियन्त्रणमा लिएपछि नै भन्सार अधिकृत भट्टले एसपी केसीलाई फोन गरेको बताइएको छ।
नियन्त्रणमा लिइएको गाडी सुरक्षाकर्मीले कैलाली भन्सार कार्यालयमा बुझाएका थिए। कैलाली भन्सारले अन्डर बिलिङ नदेखिएको भन्दै उक्त गाडी गड्डाचौकी भन्सार कार्यालयमा पठाएको थियो। गड्डाचौकी भन्सारले भने सम्बन्धित व्यवसायीलाई नै सामान फिर्ता गरेको पाइएको छ।
‘व्यवसायीलाई अनावश्यक दुःख दिइयो’
भन्सार अधिकृत भट्टले भने सशस्त्र प्रहरीले व्यवसायीलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाएका छन्। भन्सार प्रक्रिया पूरा गरी पास भइसकेको सामान पुनः नियन्त्रणमा लिएर सुरक्षाकर्मीले ‘बहादुर’ देखाउन नहुने उनको भनाइ छ।
उनका अनुसार भन्सार तिरेर पास भइसकेको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि व्यवसायीलाई दुःख नदिन आग्रह गर्दै एसपी केसीलाई फोन गरिएको हो। यद्यपि, फोन संवादका क्रममा आफ्नो बोल्ने शैली केही रुखो भएको उनले स्वीकार गरेका छन्।
सीमा क्षेत्रमा भन्सार कर्मचारी र सुरक्षा निकायबीच समन्वयको अभाव तथा एउटै सामानको जाँच र मूल्यांकनसम्बन्धी फरक बुझाइका कारण यस्ता विवाद बेलाबखत सार्वजनिक हुँदै आएका छन्।

