धनगढीका जोखिमयुक्त क्षेत्रमा नगर प्रहरीको माइकिङ, सतर्क रहन आग्रह

cp new add
Nisharg hospital

धनगढी । असोज ९ गतेदेखि १२ गतेसम्म अत्यधिक वर्षा हुने पूर्वानुमानपछि धनगढी उपमहानगरपालिकाले बाढी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।

अत्यधिक वर्षाका कारण बाढी, डुबान तथा अन्य विपद्का घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरपालिकाका नगर प्रहरीले जोखिमयुक्त क्षेत्रमा माइकिङमार्फत स्थानीयवासीलाई सचेत गराउन थालेका छन्। नगर प्रहरी टोलीले धनगढीका वडा नम्बर १४, १५, १६, १७, १८ र १९ का विभिन्न स्थानमा पुगेर बाढी तथा डुबानबाट जोगिन पूर्वतयारी गर्न, सतर्क रहन र आवश्यक सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।

वर्षाका कारण नदी, खोला तथा नालामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सावधानी अपनाउन र अत्यावश्यक सामग्री तथा कागजात सुरक्षित राख्न नगर प्रहरीले अनुरोध गरेको छ।

त्यस्तै, घर वरपरका नाला तथा पानी निकासका संरचना सफा राख्न, विद्युत् तथा अन्य जोखिमयुक्त संरचनाबाट टाढा रहन र बाढी तथा डुबानको अवस्था देखिएमा स्थानीय तह तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

सम्भावित विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारी महत्वपूर्ण हुने भन्दै उपमहानगरपालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...