
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले असोज ९ गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउनसमेत आग्रह गरेका हुन्।
उनका अनुसार मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भन्दै प्रधानमन्त्री बालेनले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। पूर्वानुमानअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन प्रधानमन्त्रीले आग्रह गरेका छन्।
पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी–खोलानजिक विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्। त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न प्रधानमन्त्री बालेनले अनुरोध गरेका छन्।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत उनले नागरिकलाई आग्रह गरेका छन्।

