गण्डकी बेसिनका जलविद्युत आयोजनाहरू ‘हाइ अलर्ट’ मा

cp new add
Nisharg hospital

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुने र त्यसले गण्डकी क्षेत्रलाई धेरै प्रभावित पार्ने प्रक्षेपण गरेपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरूमा उच्च सतर्कता (हाइ अलर्ट) अपनाइएको छ ।

सम्भावित विपत्तिलाई मध्यनजर गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले गण्डकी बेसिनका सबै जलविद्युत आयोजनाहरूलाई हाइ अलर्टमा राखेको हो ।

विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका र निजी क्षेत्रबाट सञ्चालित सबै आयोजनाहरूमा उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले आफ्ना सबै आयोजनाहरूलाई मौसमको निरन्तर जानकारी लिई सोहीअनुसारको सुरक्षा उपाय अपनाउन निर्देशन दिइसकेको छ । त्यसैगरी, निजी क्षेत्रका आयोजनाहरूको हकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले समन्वय गरिरहेको छ ।

बिहीबार बेलुकी बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पूर्वाधार सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका थिए । भोटेकोशी बाढीबाट पाठ सिक्दै मौसम प्रणालीको निरन्तर अपडेट लिएर गण्डकीलगायत सम्भावित जोखिममा रहेका ठाउँका जलविद्युत र विद्युत् पूर्वाधारको सुरक्षा सतर्कता अपनाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनाहरूलाई २४सै घण्टा उच्च सतर्कतामा राखिएको बताएका छन् । सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणबाट निरन्तर समन्वय भइरहेको र निजी क्षेत्रका तर्फबाट इप्पानले प्राधिकरणमै प्रतिनिधि खटाएर सहकार्य गरिरहेको उनले जानकारी दिए ।

यसअघि आएको भोटेकोशी बाढीका कारण जलविद्युत आयोजना, विद्युत् पूर्वाधार र सबस्टेसनमा ठुलो क्षति पुग्दा राष्ट्रिय प्रणालीबाट करिब १० प्रतिशत बिजुली बाहिरिएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...