
सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला खोलामा नुहाउने क्रममा एक व्यक्ति बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा मकवानपुरगढी गाउँपालिका–५, मकवानपुर निवासी दिनानाथ दुलालका ४७ वर्षीय छोरा गोविन्दराज दुलाल रहेका छन् । उनी कल्याणपुर–६ भोक्राहामा कमला खोलामा निर्माणाधीन पक्की पुलमा काम गर्ने इलाइट कन्स्ट्रक्सनको बोलेरो गाडी चालक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार, दुलाल शनिबार बिहान करिब ९:५५ बजे कमला खोलामा नुहाउन गएको अवस्थामा अचानक खोलाको बहावले बगाएको थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक विकास पासवानको कमाण्डमा ५ जना तथा अस्थायी प्रहरी पोस्टबाट प्रहरी टोली खोजीमा खटिएको थियो ।
साथै, खोलाको आसपासका प्रहरी युनिटबाट समेत थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । शनिबार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कल्याणपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजु सिंह भण्डारीको कमाण्डमा हिजो २४ जना विपद् व्यवस्थापन टोलीसमेत खोजी तथा उद्धारका लागि परिचालन भएको थियो ।
आइतबार बिहानदेखि पुन: खोजी सुरु गरिएको छ । खोजीमा बेपत्ता दुलालका परिवार पनि संलग्न छन् ।

