
श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेठी श्रीमती दिलमाया राईसँगको सम्बन्ध र अदालतको पुरानो फैसलाबारे स्पष्टीकरण दिएका छन्।
सामाजिक सञ्जालमा दिलमायाले साम्पाङविरुद्ध दायर गरेको मुद्दाको फैसला भाइरल भएपछि उनले जेठी श्रीमतीसँग कानुनी रूपमा पहिल्यै अलग भइसकेको बताएका हुन्।
दिलमायाले २०७३ असोज ६ गते सुनसरी जिल्ला अदालतमा दायर गरेको मुद्दामा अदालतले २०७६ असार १२ गते फैसला गर्दै साम्पाङसहित पाँच अंशियार कायम गरी दिलमायालाई अंश दिनुपर्ने ठहर गरेको थियो।
दिलमायाले फिरादपत्रमा वैवाहिक जीवनदेखि नै झैँझगडा, कुटपिट तथा घरबाट निकालिएको र साम्पाङले परस्त्रीसँग सम्बन्ध राखेको आरोप लगाएकी थिइन्। साम्पाङले भने ती आरोप अस्वीकार गर्दै आफूले घरेलु हिंसा नगरेको दाबी गरेका छन्। कन्टेन्ट क्रिएटरहरूसँग कुरा गर्दै साम्पाङले आफूले १२ वर्षसम्म सम्बन्ध सुधारको प्रयास गरे पनि जेठी श्रीमतीकै इच्छाअनुसार अलग भएको बताए।
‘मैले १२ वर्ष पर्खँदा पनि डिभोर्स नै गर्न चाहेकाले उहाँको इच्छा अनुसार नै छुट्टिएका हौँ। यो आजभन्दा करिब २० देखि २५ वर्षअघिको कुरा हो,’ उनले भने।
छोरीको जिम्मेवारी नलिएको भन्ने प्रश्नमा साम्पाङले आफूले छोरीलाई पढाएको र विवाह नभएसम्म आफूसँगै राखेर हुर्काएको दाबी गरेका छन्।

