जडिबुटी संकलन गर्न पुगेका एक जनाको मृत्यु, ९ जना सम्पर्कविहीन

cp new add
Nisharg hospital

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडिबुटी संकलन गर्न पुगेका मुगुका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन्।

भदौ २८ गते मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट १३ जना कटुको संकलनका लागि हुम्ला पुगेका थिए। सामुदायिक वन उपभोक्ता समितिले जडिबुटी संकलन गर्न नदिएपछि फर्किने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन हुनेमा पापुका बलबहादुर बुढा, प्रकाश बुढा, ललितजंग बढुवाल, जयबहादुर बढुवाल र अ‍ेखबहादुर रोकाय तथा छाइलका जयबहादुर रोकाय, वीरबहादुर ऐडी, प्रेम रोकाय र पवन रोकाय छन्। तीन जना भने सम्पर्कमा आएका छन्।

स्थानीयका अनुसार हुम्ला–मुगु सीमाक्षेत्रमा जडिबुटी संकलन गर्ने क्रममा दुई समूहबीच विवाद तथा झडपसमेत भएको थियो। झडपपछि उनीहरूलाई लखेटिएको आरोप स्थानीयले लगाएका छन्।

घटनापछि दुवै जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ। उच्च हिमाली क्षेत्रमा भारी हिमपात भइरहेकाले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...