
काठमाडौँ। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ समितिले दसैँअगाडि नै प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने गरी तयारी गरेको छ । त्यसका लागि प्रस्तावित नाममाथि उजुरी माग गरिएको छ । सरकारले १३ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न आह्वान गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
“हामीले राजदूतको नियुक्ति प्रक्रिया छिटो सक्ने गरी काम सुरु गरिसकेका छौँ, प्रस्तावित नामहरूमा उजुरी पनि आह्वान भइसकेको छ,” सभापति श्रेष्ठले भन्नुभयो, “आएका उजुरीमाथि विस्तृत छानबिन गरेर सुनुवाइको सम्पूर्ण काम दसैँअगाडि नै सक्ने गरी गृहकार्य भइरहेको छ ।”
प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने छ । सभापति श्रेष्ठले पहिलो पटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सङ्घीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको उजुरीको स्पष्ट आधार खुलाउन आग्रह गरिएको छ । प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनुवाइ गरिने सभापति श्रेष्ठको भनाइ छ ।
मन्त्रीपरिषद्को असोज २ गतेको बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो । जस अनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरु जोशीलाई राजदूतमा सिफारिस गरिएको छ ।
यस्तै सरकारले इजरायलका लागि सुरेशकुमार कर्ण, जापानका लागि जिज्ञानकुमार थापा, स्पेनका लागि प्राप्ति शेरचन, साउदी अरेबियाका लागि गिरीबहादुर सुनार, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मन्चलाकुमारी झाको नाम राजदूतका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) माग्ने छ । त्यसपछि राष्ट्रपतिले राजदूतलाई औपचारिक रूपमा नियुक्त गर्नुहुने छ । परराष्ट्र मन्त्रालयले गत जेठ दोस्रो साता विभिन्न मुलुकमा रिक्त नेपाली राजदूत तथा स्थायी प्रतिनिधिका लागि आवेदन माग गरेको थियो । चार हजारभन्दा बढी आवेदनबाट १३ जनाको नाम सिफारिस गरिएको हो ।

