
सुलीकोट । मनाङको हिम्लुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता भएका छन्। पर्वतारोहीका सहयोगीका रूपमा हिम्लुङ आधार शिविर पुगेका धार्चे गाउँपालिका–२ केरौंजाका दुई जना हिमपहिरोपछि सम्पर्कविहीन भएका हुन्।
बेपत्ता हुनेमा केरौंजाका ३२ वर्षीय वीरेन्द्र गुरुङ र ४५ वर्षीय आशबहादुर गुरुङ रहेका छन्। उनीहरू आइतबार मनाङको हिम्लुङ आधार शिविरबाट सम्पर्कविहीन भएको आफन्त अर्जुन गुरुङले जानकारी दिनुभयो।
उहाँका अनुसार आशबहादुर इम्याजिन नेपाल एक्सपिडिसन कम्पनीमा गाइड तथा कुकका रूपमा कार्यरत हुनुहुन्थ्यो। वीरेन्द्र भने हिमालयन होलिडेज कम्पनीमार्फत आरोहीका सहयोगीका रूपमा काम गर्नुहुन्थ्यो।
हिमपहिरो गएको स्थानमा उनीहरू पर्वतारोहीको टोलीसँगै आधार शिविर पुगेका थिए। हिमपहिरोपछि दुवै जनासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। घटनापछि एउटै गाउँका दुई जना सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो।
बेपत्ता भएका दुवै जनाको यथाशीघ्र खोजी तथा उद्धार गरिदिन परिवारले सम्बन्धित निकायसँग माग गरेको छ। परिवारका सदस्यहरूले सम्भावित जोखिमयुक्त क्षेत्रमा समेत खोजी कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।
हिम्लुङ आधार शिविरमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये हालसम्म दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घटनामा थप मानिस प्रभावित भएरनभएको तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ।
हिमपहिरोका कारण सम्पर्कविहीन भएका वीरेन्द्र र आशबहादुरको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने परिवारको माग छ।

