
काठमाडौँ । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ।
विभागका अनुसार हाल देशमा भीषण वर्षा गराउने कुनै मौसमी प्रणाली छैन। आगामी दिनमा कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अपराह्न तथा साँझ हल्का र कतै–कतै मध्यम वर्षा हुन सक्ने भए पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुदर्शन हुमागाईले बताउनुभयो।
उहाँले ‘ठूलो पानी पर्ने, भीषण पानी पर्ने त्यस्तो मौसम प्रणाली देशमा छैन’ भन्दै सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गर्नुभयो।
काठमाडौँ उपत्यकामा पनि केही स्थानमा क्षणिक हल्का वर्षा हुन सक्ने भए पनि ठूलो वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। हालको अवस्थाले पछिल्लो समय देखिएजस्तो ठूलो वर्षा, बाढी तथा पहिरोको जोखिम नरहेको पनि मौसमविद् हुमागाईले स्पष्ट पार्नुभयो।
विभागले मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि आधिकारिक वेबसाइट र सामाजिक सञ्जालबाट मात्रै अद्यावधिक सूचना लिन आग्रह गरेको छ।

