
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्थ गम्भीर घाइते भएका थिए । उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएका पन्थको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

