
काठमाडौं । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १७औँ साधारण सभामा शेयर सदस्यलाई वितरण गरिएको चिउराको म्याद १२–१३ दिनअघि नै सकिएको भेटिएपछि हंगामा भएको छ।
कोटेश्वरस्थित होटल ए वान भेन्युमा आयोजित साधारण सभा सकिएपछि सहकारीले शेयर सदस्यलाई खाद्य सामग्रीसहित उपहार बाँडेको थियो। त्यही क्रममा वितरण गरिएको चिउरा म्याद गुज्रिएको भेटिएपछि शेयर सदस्यले आपत्ति जनाउँदै सभास्थलमै विरोध गरेका थिए।
विवाद बढेपछि नजिकैको प्रहरी प्रभागबाट प्रहरी टोलीसमेत पुगेको थियो। म्याद गुज्रिएको चिउरा फिर्ता लिएर नयाँ चिउरा उपलब्ध गराउने सहमति भएपछि विवाद साम्य भएको बताइएको छ।
सहकारीकी सचिव किरण मोक्तानले चिउराको म्याद सकिएको आफूहरूलाई जानकारी नभएको बताइन्। ‘हामीले शेयर सदस्यलाई चिउरा उपहार दिएका थियौँ। त्यो १२–१३ दिन म्याद नाघेको रहेछ,’ उनले भनिन्। सहकारीका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठले पनि चिउराको म्याद सकिएको स्वीकार गरेका छन्। उनका अनुसार सहकारीले ६–७ सय प्याकेट चिउरा खरिद गरेको थियो।
सरकारले सहकारी संस्थालाई साधारण सभामा नगद उपहार वितरणमा रोक लगाएपछि यसपटक खाद्य सामग्री उपहारका रूपमा वितरण गरिएको सहकारीले जनाएको छ।
म्याद गुज्रिएको खाद्य सामग्री शेयर सदस्यलाई वितरण भएपछि भने सहकारीको व्यवस्थापन र खाद्य सामग्रीको गुणस्तर जाँचप्रति प्रश्न उठेको छ।

