
काठमाडौं । गायिका एलिना चौहानले सञ्चालन गरेको लुगा पसल रहेको घर पूर्वपति विष्णु सापकोटाले किनेपछि उनलाई पसल सार्न बाध्य बनाएको भन्ने हल्लाको विष्णुले खण्डन गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूले घर किनेको कुरा समाचार पढेर मात्र थाहा पाएको व्यङ्ग्य गरेका छन् । ‘म यति धनी पनि भइसकेको छैन कि आफूले घर किनेको खबरसमेत समाचार पढेर थाहा पाउनुपरोस्,’ उनले लेखेका छन् ।
आफ्नो नाम जोडेर कन्टेन्टको रिच र आम्दानी बढाउने प्रयास भइरहेको संकेत गर्दै उनले एलिनातर्फ कटाक्षसमेत गरेका छन् । ‘कहिले गीत चलाउन, कहिले जिन्दगी चलाउन त कहिले व्यवसाय चलाउन विष्णु नभई नहुने भएको हो त बजारमा?’ उनले प्रश्न गरेका छन् ।
सम्बन्ध समाप्त भइसकेकाले हरेक विषयमा आफूलाई नजोड्न आग्रह गर्दै उनले आधारहीन आरोप र अफवाह फैलाएर चरित्रहत्या नगर्न चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा देखिने कुरा र वास्तविकताबीच आकाश–जमिनको फरक हुने भन्दै उनले सत्य नबुझी गरिने आलोचना स्वीकार्य नहुने बताएका छन् ।

