
बाजुरा । बाजुरामा बिजुलीको पोलमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
बुढीगंगा नगरपालिका–२ परिवनका अन्दाजी ४२ वर्षीय धनबहादुर केसी घरबाट निस्किएपछि साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा परिवन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागेर मृत अवस्थामा फेला परेका हुन्।
स्थानीयबाट मंगलबार राति करिब ९ः५० बजे घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
बुधबार बिहान जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली घटनास्थलमा खटिएर घटनास्थल मुचुल्कालगायत थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

