विद्यार्थी आन्दोलन उग्र बन्दै,५०० विद्यालय बन्द हुने

cp new add
Nisharg hospital

विद्यार्थी आन्दोलनका क्रममा झडप र हिंसा बढेपछि फ्रान्समा सोमबार ४०० देखि ५०० विद्यालय आंशिक वा पूर्ण रूपमा बन्द हुने भएका छन्।

शिक्षामन्त्री एडुआर्ड गेफ्रेका अनुसार आन्दोलन सुरु भएयता २४ विद्यालयमा आगजनी वा तोडफोड भएको छ भने ७८ जना शिक्षा क्षेत्रका कर्मचारी घाइते भएका छन्।

शिक्षाको गुणस्तर, शिक्षक अभाव, कक्षाकोठामा बढ्दो भीड र जीर्ण विद्यालय भवनको विरोधमा गत सातादेखि हजारौं विद्यार्थी प्रदर्शनमा छन्। पेरिसबाट सुरु भएको आन्दोलन मोन्टपेलिए, नान्टेस र मार्सेइललगायत शहरमा फैलिएको छ।

न्यायमन्त्री जेराल्ड दार्मानिनका अनुसार शुक्रबारसम्म ३ हजार ७ सयमध्ये ७३५ विद्यालय कुनै न कुनै रूपमा हिंसात्मक प्रदर्शनबाट प्रभावित भएका थिए। आन्दोलन सुरु भएयता ५ हजारभन्दा बढी पक्राउ परिसकेका छन्, जसमध्ये करिब ८५ प्रतिशत नाबालिग छन्।

शिक्षामन्त्री गेफ्रेले अतिवादी वामपन्थी समूहका कार्यकर्ता आन्दोलनमा घुसेर हिंसा भड्काएको आरोप लगाएका छन्।

सरकारले विद्यालयका भौतिक संरचना सुधार, कक्षा सञ्चालन निरन्तरता, समयतालिका व्यवस्थित र विश्वविद्यालय भर्ना प्रक्रियालाई पारदर्शी बनाउने काम अघि बढाएको जनाएको छ। तर आन्दोलन आयोजकहरूले सरकारको कदम पर्याप्त नभएको भन्दै मंगलबार पनि प्रदर्शन जारी राख्ने बताएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...