
काठमाडौं । स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने भएको छ । आगामी पुस १ गतेबाट १६ वर्ष उमेर पुरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बिमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको हो ।
स्वास्थ्य बीमा बोर्डको बैंठकले बीमा सेवा प्रवाहमा डिजिटल सुधार गर्ने क्रममा राष्ट्रिय परिचय पत्रलाई पनि अनिवार्य गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।
सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बिमित परिवारलाई बोर्डको ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि भएको हो । यसबाट बिमितको पहिचान सुनिश्चित हुने, दोहोरो आबद्धता नियन्त्रण हुने, केवाईसी अद्यावधिक प्रभावकारी हुने र दाबी व्यवस्थापन विश्वसनीय हुने बोर्डको दाबी छ ।
बोर्ड कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा सम्झौताको आधार, सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानी विधि, सम्झौताको मस्यौदा र चरणबद्ध कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नेछ ।
यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर, लागत नियन्त्रण र दाबी व्यवस्थापन सुधार हुने अपेक्षा बोर्डले गरेको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाबाट ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई प्रचलित कानुन र निर्धारित मापदण्डबमोजिम दाबी मान्यता दिने निर्णय पनि बोर्डले गरेको छ ।

