सुदूरपश्चिमबाट कांग्रेस पदाधिकारी बन्ने दौडमा को–को छन् ?

cp new add
Nisharg hospital

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिमबाट पाँच जना नेता केन्द्रीय पदाधिकारी बन्ने दौडमा छन्। महामन्त्रीमा नैनसिंह महर तथा सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’, भरत खड्का, जनकराज गिरी र इश्वरी न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार असोज २० गते उम्मेदवारी दर्ता हुँदैछ भने असोज २२ गते मतदान हुनेछ।

विगतका दुई महाधिवेशनमा सुदूरपश्चिमले कांग्रेसको नेतृत्व पाएको थियो। १३औँ र १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए। यसपटक भने सुदूरपश्चिमका नेताहरू महामन्त्री र सहमहामन्त्री पदमा केन्द्रित भएका छन्।

महामन्त्रीमा महर

डडेल्धुराका नैनसिंह महरले कांग्रेसलाई समयसापेक्ष बनाउने एजेन्डासहित महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघको अध्यक्षका रूपमा काम गरेका महरले करिब दुई दशक विद्यार्थी राजनीतिमा बिताएका छन्।

देउवा सभापति रहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेका महर ‘स्कुल अफ डेमोक्रेसी’का संस्थापक तथा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सभापति हुन्। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने उनी डडेल्धुराबाट पराजित भएका थिए।

सहमहामन्त्रीमा चार जनाको दाबी

कांग्रेसका वर्तमान सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले दलित समावेशीतर्फ पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। १४औँ महाधिवेशनमा उनी दलित समावेशीतर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बने पनि उनी पराजित भएका थिए।

डोटीबाट प्रतिनिधिसभामा निर्वाचित भरत खड्काले पनि सहमहामन्त्रीमा दाबी गरेका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका खड्काले विशेष महाधिवेशनमै सहमहामन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए।

बाजुराबाट प्रतिनिधिसभा सदस्य रहेका जनकराज गिरीले पिछडिएको क्षेत्रको प्रतिनिधित्व बलियो बनाउने, पुस्तान्तरण र रूपान्तरणसँगै सुदूरपश्चिमको स्वाभिमानका लागि सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको बताएका छन्।

यस्तै, कांग्रेस नेतृ इश्वरी न्यौपानेले पनि सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन्। प्रतिनिधिसभाकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति न्यौपाने पटकपटक कांग्रेस केन्द्रीय सदस्य भइसकेकी छन्। कांग्रेसलाई लोकप्रिय र संगठनलाई बलियो बनाउँदै देशकै नम्बर एक पार्टीका रूपमा स्थापित गर्ने अभियानमा आफ्नो भूमिका रहने बताउँदै उनले महाधिवेशन प्रतिनिधिसँग मत मागेकी छन्।

१५औँ महाधिवेशनमा सुदूरपश्चिमबाट महामन्त्रीमा महर तथा सहमहामन्त्रीमा रसाइली, खड्का, गिरी र न्यौपानेको दाबीले प्रदेशको प्रतिनिधित्व र आगामी केन्द्रीय नेतृत्वमा सुदूरपश्चिमको प्रभावबारे चासो बढाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...