कैलाली कञ्चनपुरबाट लाखौको भन्सार छलीका सामानसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

कञ्चनपुर। कञ्चनपुरमा अवैध रूपमा भारतबाट भन्सार छली ल्याइएका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कृष्णपुर नगरपालिका–५ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गको वनदेवी मन्दिर नजिकबाट अन्दाजी १३ लाख ३ हजार ६ सय रुपैयाँ बराबरका लेडिज तथा जेन्स जुत्ता र से १ च ३१९ नम्बरको महेन्द्रा पिकअप जिपसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरियाबाट कञ्चनपुर खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा पिकअपमा भन्सार छली ल्याइएका सामान फेला पारेको थियो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–४ रिछाका ३८ वर्षीय चालक कुशल चौधरी र बेलौरी नगरपालिका–६ हात्तीबोझाका ४२ वर्षीय सवारीधनी श्याम सिंह रावत रहेका छन्। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट मंगलबार राति भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ८० हजार रुपैयाँ बराबरका विभिन्न किसिमका आयुर्वेदिक औषधि लगायतका सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।

यस्तै, कैलालीका विभिन्न स्थानबाट पनि भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका अन्दाजी ३४ हजार ३ सय ५० रुपैयाँ बराबरका पेय पदार्थ, चक्लेट, नमकिन, विभिन्न किसिमका भाँडावर्तन लगायतका सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट मंगलबार खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...