
काठमाडौं । प्रहरीले व्यवसायी नवीनराज बस्नेतलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले शुक्रबार बेलुकी भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।
ब्यूरोले १३ वर्षअघि भएको रक्तचन्दन तस्करीको मुद्दामा उनलाई पक्राउ गरेको सीआईबीका प्रमुख एआईजी उमा चतुर्वेदीले कान्तिपुरसँग पुष्टि गरे । ‘त्यसबेला प्रतिवादीको ठेगाना नखुलेको भन्दै पेन्डिङ बसेको रहेछ । पछिल्लो पटक अदालतले ठेगाना खुलेको भन्दै निवेदन दिएको थियो,’ उनले भने, ‘त्यसपछि पक्राउ पुर्जी जारी भएर नियन्त्रणमा लिइएको हो ।’
अदालत खुलेको दिन उनलाई पेस गरिने चतुर्वेदीले बताए । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतको घरमा छापासमेत मारेको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेरसहित निकटस्थहरूका घरमा छापा मार्दा उनको घरमा समेत विभागको टोली पुगेको थियो । त्यसपछि ब्यूरोले उनको खोजी थालेको थियो ।
प्रहरीद्वारा पूर्वप्रधानन्यायाधीश जबरा र विभिन्न मुद्दामा जेलमा रहेका उच्चपदस्थहरूसँग सम्पर्क गराउने व्यक्ति दाबी गरिएका इनम सापकोटासँग समेत उनको कुराकानी हुने गरेको भेटिएको थियो ।
सापकोटाको मोबाइल फोनको विवरण हेर्दा पूर्वन्यायाधीश नवराज थपलिया, अदालतका बिचौलिया भनेर चिनिने दीपक तिमिल्सिना, पूर्वप्रधानन्यायाधीशका भाइ प्रभुशमशेर जबरा र बस्नेतसँग पनि कुराकानी हुने गरेको विवरण फेला परेको थियो ।
त्यसपछि न्यायालयमा हुने सेटिङ भत्काउने भन्दै अनुसन्धान अधिकृतहरूले यो छानबिन गरिरहेको दाबी गरेका छन् । पुरानो मुद्दासँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत उनीमाथि छानबिन हुने अधिकृतहरूको भनाइ छ ।

