
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउँदै उद्धार र राहत कार्यमा फराकिलो सोचका साथ अघि बढ्न आग्रह गरेका छन्।
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै ओलीले विपद्का बेला समेत सरकारले साँघुरो मन देखाएको टिप्पणी गरेका हुन्।
पार्टीको ‘मिसन जागरण अभियान’ अन्तर्गत आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारी स्रोतसाधनको दुरुपयोग भएको आरोप लगाए। विपद्का बेला सरकारी हेलिकोप्टरको प्रयोग प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले हेलिकोप्टरलाई कुनै संस्थाको निजी सम्पत्तिजस्तो गरी प्रयोग गरिएको टिप्पणी गरे।
यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका बेला पनि हेलिकोप्टरको दुरुपयोग भएको र राहत तथा उद्धारका काम समयमै हुन नसकेको ओलीको दाबी थियो। आगामी दिनमा त्यस्ता कमजोरी नदोहोर्याउन उनले सरकारलाई आग्रह गरे।
विपद् व्यवस्थापनजस्तो संवेदनशील विषयमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा सरकारले सर्वदलीय समिति समेत गठन गर्न नसकेको ओलीको आरोप थियो। संकटका बेला सरकार फराकिलो सोचका साथ उद्धार कार्यमा जुट्नुपर्ने उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग समयमै स्वीकार र उचित सदुपयोग गर्न नसक्दा उद्धार प्रभावित भएको पनि ओलीले दाबी गरे। विदेशी सहयोग समयमै परिचालन गर्न नसक्दा उद्धारमा ढिलाइ भएको र त्यसले मानवीय क्षति बढाएको हुन सक्ने उनको भनाइ थियो। ओलीले सरकारको मात्रै मुख ताकेर नबस्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा खटिन निर्देशन दिए।
‘आज फेरि अर्को विपत्ति आइरहेको छ, बूढीगण्डकीमा बाढी गएर। केही घर बगाएको छ, केही व्यक्ति बेपत्ता हुनुभएको छ र निकै ठूलो क्षति भएको छ,’ उनले भने।
विपत्तिको घडीमा प्रभावित नागरिकको उद्धार र राहतमा जुट्न तथा आवश्यकताअनुसार पुनर्निर्माण र पुनःस्थापनामा सहयोग गर्न उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे।

