भान्सामा साङ्ला र खानामा कीरा भेटिएपछि मन्त्र थकालीलाई साढे २ लाख जरिवाना

cp new add
Nisharg hospital

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले अनुगमनका क्रममा गम्भीर कैफियत फेला पारेपछि रेस्टुरेन्टलाई जरिवाना गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार शनिबार खानामा किरा परेको भन्दै फोनमार्फत उजुरी आएपछि विभागको र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) ले तत्काल अनुगमन गरेको थियो । अनुगमनका क्रममा रेस्टुरेन्टको भान्साको सरसफाइ सन्तोषजनक नभएको, पकाइएका खाद्य पदार्थ नछोपी राखिएको तथा फ्रिज र भान्सामा साङ्ला र भुसुनाजस्ता कीरा भेटिएको विभागले जनाएको छ ।

त्यस्तै, भान्साको ढल निकास क्षेत्रको सरसफाइ कमजोर रहेको, फ्रिजमा खाद्य वस्तु अव्यवस्थित रूपमा राखिएको र फोहोर राख्ने डस्टबिन खुला छाडिएको पाइएको थियो । अनुगमन टोलीले फ्राइड आलु पत्रिकामा राखेर भण्डारण गरेकोसमेत फेला पारेको थियो । भण्डारण गरिएको करिब एक किलो फ्राइड आलु नष्ट गरिएको विभागले जनाएको छ ।

संयुक्त अनुगमनका क्रममा गम्भीर कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

विभागले पकाइएका खाद्य पदार्थ राम्ररी छोपेर राख्न, कीरा नियन्त्रणको प्रभावकारी व्यवस्था गर्न, भान्सा तथा फ्रिजको सरसफाइमा ध्यान दिन र खाद्य पदार्थ भण्डारण व्यवस्थित बनाउन निर्देशन दिएको छ । खाद्य पदार्थ राख्न पत्रिकाजस्ता कागज प्रयोग नगर्नसमेत भनिएको छ ।

अनुगमनका क्रममा देखिएका कैफियत सात दिनभित्र सुधार गरी त्यसको प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । तोकिएको समयभित्र सुधार नगरे प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही गरिने विभागले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...