


डीलासैनी । डीलासैनी गाउँपालिका–५ मा कार्यरत एक पशु प्राविधिकले किसानको सेवामा आफू सधैँ प्रतिबद्ध रहेको बताएका छन्। पशु बिरामी पर्दा किसानले समयमै परामर्श र उपचार सेवा पाउनुपर्नेमा जोड दिँदै उनले पशु सेवा आफ्नो पेसा मात्र नभई धर्म र जिम्मेवारीसमेत भएको बताएका हुन्।


हालै वडा नं। ५ का एक किसानको भैंसी बिरामी परेको विषयमा सामाजिक सञ्जालमार्फत गुनासो सार्वजनिक भएको थियो। त्यसपछि पशु प्राविधिक किसानको घरमै पुगेर औषधि उपलब्ध गराएका छन्। भैंसीको थुनमा देखिएको समस्याबारे थप जाँच तथा उपचारका लागि आवश्यक प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन्।





पशुपालन किसानको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पशुमा समस्या देखिँदा किसानले समयमै सेवा पाउनु आवश्यक रहेको उनको भनाइ छ। किसानका समस्या समाधान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पशु उपचार तथा आवश्यक सहयोगका लागि सम्पर्क गर्न किसानलाई आग्रह गरेका छन्।

“पशु सेवा मेरो धर्म हो, किसानको सेवा मेरो कर्तव्य हो। किसानले पशु बिरामी पर्दा आफू एक्लो भएको महसुस गर्न नपरोस् भन्ने मेरो चाहना हो,” उनले भने।
किसानका समस्यामा प्रत्यक्ष साथ दिँदै पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन आफू निरन्तर लागिरहने उनको प्रतिबद्धता छ। पशुपालनमा निर्भर किसानका लागि समयमै उपचार, प्राविधिक परामर्श र आवश्यक सहयोग उपलब्ध हुनु महत्त्वपूर्ण मानिन्छ।






