


धनगढी । कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्। प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।


जिल्लाको पुनर्वास नगरपालिका–४ स्थित सहारा इँटा भट्टानजिकै भारतबाट नेपालतर्फ लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।




इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भारतीय नम्बरको यू।पी। ३१ सी।पी। ६९७८ र सुदूरपश्चिम प्रदेशको सु।प।प्र। ०१–०१३ प ६७६३ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गरेको थियो।


चेकजाँचका क्रममा ८ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेपछि कैलालीको गोदावरी नगरपालिका–६, लालपुरका २८ वर्षीय राजेश कोली, २२ वर्षीय सुरेश कोली र भारतको लखिमपुर खिरी, बसईका ३० वर्षीय राम पुकारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित बसपार्कबाट पनि खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक किशोर पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागेर जाँच गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१० का १८ वर्षीय किशोरको साथबाट ९०० मिलिग्राम उक्त पदार्थ फेला पारेको थियो।
पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।






