


धनगढी । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र बैतडीबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ४ लाख ५९ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।


प्रहरीले बुधबार तीन जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला पारेका कपडा, किराना सामग्री, चिनी, खाने तेल, मिठाईलगायतका सामान नियन्त्रणमा लिएको हो।





कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित फनपार्कनजिकबाट भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ५२ हजार रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा तथा किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बुधबार राति प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको थियो।

त्यसैगरी, कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ८९ हजार ४०० रुपैयाँ बराबरका चिनी, मिश्री, मिठाई, प्लास्टिक झिल्ली लगायतका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार ती सामान फेला पारेको हो।
यस्तै, बैतडीको पञ्चेश्वर गाउँपालिका–४ स्थित तिमलेखालीको बिनायक जंगलबाट सबैभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तस्वदेही र प्रहरी चौकी हल्दुविनायकबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो अन्दाजी ३ लाख १७ हजार ७१० रुपैयाँ बराबरका सामान फेला पारेको थियो।
उक्त स्थानबाट चिनी, खाने तेल, मिठाई, ध्वजारनेजा, नरिवल, जिरा, सुर्ती, नटबोल्ट, पेन्ट, पास्तालगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। तीनवटै जिल्लाबाट बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ४ लाख ५९ हजार ११० रुपैयाँ रहेको छ। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सबै सामान नियन्त्रणमा लिएको जनाएको छ।






