


काठमाडौँ । उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई तयार गरी बिक्रीवितरण गर्ने व्यवसायीका लागि नयाँ निर्देशिका जारी गरेको छ।


विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै आगामी २०८३ कात्तिक ११ गतेदेखि सबै मिठाई पसल, होटल तथा भण्डारले ग्राहकले स्पष्ट देख्ने गरी मिठाईको सोकेस वा काउन्टरमा आवश्यक विवरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको हो।






विभागद्वारा जारी सूचनाअनुसार अब व्यवसायीले प्रत्येक मिठाईको नाम, त्यसमा प्रयोग भएका मुख्य कच्चा पदार्थ (सम्मिश्रण), मिठाई पकाउन प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य खुलाउनुपर्नेछ।

तोकिएको मितिदेखि नियम पालना नगर्ने व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।
यसका साथै विभागले सम्पूर्ण मिठाई व्यवसायीलाई आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ प्राप्त गरेर मात्र व्यवसाय सञ्चालन गर्नसमेत आग्रह गरेको छ।






