


काठमाडौं । भारतका रक्षामन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता राजनाथ सिंहले कांग्रेस र उसका सहयोगी दलहरूले निर्वाचन आयोगविरुद्ध भइरहेको आन्दोलनलाई प्रयोग गरेर देशमा राजनीतिक अस्थिरता र अराजकता फैलाउन खोजेको आरोप लगाएका छन् ।



शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सिंहले विपक्षी दलहरूले बंगलादेशको शैलीमा भारतमा ‘शासन परिवर्तन’ गर्न खोजिरहेको दाबी गरे । “शासन परिवर्तनजस्ता शब्दको प्रयोगले नै उनीहरूको लडाइँ निर्वाचन सुधार, विशेष गहन पुनरावलोकन (एसआईआर), मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार वा युवाहरूको उज्ज्वल भविष्यका लागि नभएको स्पष्ट हुन्छ,” सिंहले भने, “बरु देशमा अराजकता सिर्जना गरेर सत्ता कब्जा गर्ने षड्यन्त्र भइरहेको छ ।”





उनले देशका युवालाई अराजक राजनीतिको गोटी बनाउन खोजिएको आरोप समेत लगाए । सिंहको आरोपको प्रतिवाद गर्दै कांग्रेस सांसद पवन खेडाले विपक्षी दलको उद्देश्य निष्पक्ष निर्वाचनमार्फत सरकार परिवर्तन गर्नु रहेको बताएका छन् ।

“जब–जब विपक्ष सडकमा उत्रिन्छ र आन्दोलन हुन्छ, तब शासन परिवर्तनको कुरा उठ्छ । भारतजस्तो लोकतान्त्रिक मुलुकमा शासन कसरी परिवर्तन हुन्छ ? निर्वाचनमार्फत मात्रै हुन्छ,” खेडाले भने । उनले आवधिक निर्वाचनमार्फत सत्ता परिवर्तन गर्नु लोकतन्त्रमा विपक्षको संवैधानिक दायित्व र प्रमुख उद्देश्य भएको बताए ।






