


धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध (खैरो हेरोइन) सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । साथै, अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी समेत पक्राउ परेका छन् ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार गोप्य सूचना तथा नियमित सुरक्षा जाँचका क्रममा बिहीबार विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।






• भजनी (कैलाली): कैलालीको भजनी नगरपालिका–३ पडरीयास्थित २८ वर्षीय हरिप्रसाद डगौराको घरकोठा खानतलासी गर्दा शुद्ध तौल ७७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धूलो पदार्थ फेला परेपछि इलाका प्रहरी कार्यालय भजनीको टोलीले उनलाई नियन्त्रणमा लिएको छ<span;>।
• धनगढी (कैलाली): धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा वडा नं. १२ पुरानो शिविर बस्ने १८ वर्षीय एक किशोरको साथबाट ७० मिलिग्राम खैरो हेरोइन बरामद गरी नियन्त्रणमा लिएको छ ।
• पुनर्वास (कञ्चनपुर): कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका कैलाली गोदावरी नगरपालिका–५ गेटा बस्ने १९ वर्षीय कुशल विष्टको साथबाट ४५० मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उक्त लागूऔषध सम्बन्धी घटनाहरूमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
यसैबीच, फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीबाट लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविर बस्ने २६ वर्षीय श्यामु चौधरी (श्यामु थारु) रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।






